अर्थ

बढ्यो आयात, घट्यो निर्यात



काठमाडौँ, ९ असोज । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात बढेको छ भने निर्यात खस्किएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०८१/८२ को दुई महिना भदौसम्मको तथ्याङ्क अनुसार यो अवधिमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँको वस्तु आयात भएको छ । यो गत भदौको तुलनामा १.०८ प्रतिशतले बढी हो । 

गत वर्ष भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको थियो । विगत केही वर्षयता वृद्धिको लयमा रहेको निर्यात भने चालु आवको दुई महिनामा घटेको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार भदौसम्म नेपालले २५ अर्ब नौ करोड रुपियाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो भदौसम्मको तुलनामा पाँच प्रतिशतले कम हो । 

भदौसम्म नेपालले सबैभन्दा धेरै १३ अर्ब ६४ करोड रुपियाँको डिजल आयात गरेको छ । त्यसपछि ११ अर्बको पेट्रोल, नौ अर्ब ४२ करोडको एलपी ग्यास, सात अर्ब ७४ करोड रुपियाँको फलाम, छ अर्ब ९८ करोडको छड, छ अर्ब ७० करोड रुपियाँको स्मार्टफोन आयात भएको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै दुई अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि एक अर्ब १४ करोडको कालो चिया, एक अर्ब सात करोडको फेल्ट, नौ अर्ब २७ करोडको मिश्रित जुस निर्यात भएको छ । दुई महिनामा नेपालको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रुपियाँ पुगेको छ । यो २०८० भदौसम्मको तुलनामा १.७८ प्रतिशतले बढी हो । 

व्यापारका हिसाबले नेपालले सबैभन्दा धेरै भारतबाट एक खर्ब ६० अर्ब रुपियाँको आयात गरेको छ । त्यस्तै भारततर्फ १५ अर्ब ९८ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट ५२ अर्ब १० करोड रुपियाँको आयात हुँदा २९ करोड ७४ लाख रुपियाँको निर्यात भएको छ । नेपालले धेरै आयात गर्ने मुलुकमा युक्रेन तेस्रो स्थानमा रहेको जहाँबाट नेपालले चार अर्ब ७१ करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यसपछि चौथो स्थानमा रहेको अस्टे«लियाबाट चार अर्ब १४ करोड रुपियाँको वस्तु आयात भएको तथ्याङ्क छ । निर्याततर्फ भारतपछि सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा तीन अर्ब २२ करोड रुपियाँको वस्तु बिक्री भएको छ । त्यसपछि जर्मनीमा ८७ करोड ११ लाख रुपियाँको निर्यात भएको देखिन्छ । गोरखापत्र