समाचार

दसैँको अग्रिम टिकट असोज १२ देखि खुल्ने



काठमाडौँ, ९ असोज । यातायात व्यवसायीहरूले दसैँमा घर फर्किने यात्रुको चापलाई लिएर अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् ।

सोमबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी इश्वरीदत्त पनेरुले शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने बताए । काठमाडौँ उपत्यकाबाट दसैँका लागि घर फर्किने यात्रुले अग्रिम टिकट काट्न सक्छन् । 

बैठकले अनलाइन प्लेटफर्ममार्फत अग्रिम टिकट काट्ने व्यवस्था व्यवसायीहरूले गर्नुपर्ने निर्णय गरेको छ । दसैँको बेला उच्च चापले बसपार्कबाटै टिकट काट्न कठिनाइ हुने भएकाले अनलाइन प्लेटफर्महरूबाट पनि टिकट काट्न सकिने गरी व्यवस्था गरिएको जनाइएकाे छ ।