समाचार

आजको मौसम



काठमाडौँ, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आज दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।