Banner News

पीडितलाई न्याय दिलाएरै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री ओली



न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

स‌युक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालै आफ्नो सरकार गठन भएपनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सदनबाट पारित गरेर कार्यान्वयनको चरणमा लगेको जानकारी गराउँदै अब पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाए । लामो संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रियालाई पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको छ। बृहत् शान्ति सम्झौताको लामो समयपछि अब हामी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने चरणमा छौँ । मेरो सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌बाट पारित भएर कार्यान्वयनमा गएको छ । अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पुर्‍याउनेछौँ ।’

उनले हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जानकारी गराए ।