राजनीति

अत्यावश्यक बाहेक यात्रामा ननिस्कनु होस् : प्रधानमन्त्री ओली



काठमाडौँ, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका काममा यात्रामा ननिस्कन अपिल गर्नुभएको छ ।

देशभर भारी वर्षाका कारण सडक अवरुद्ध तथा डुबान परिरहेकाले अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन आग्रह गर्दै सतर्कता अपनाउन अपिल गर्नुभयो । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले उद्धार तथा राहतको लागि सवै सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु । यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु । नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला ।’