पोखरा, १२ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि अनुमानित ६२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । क्यानको शुक्रबार पोखरामा भएको वार्षिक साधारणसभाले उक्त बजेट पारित गरेको हो ।
साधारणसभामा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले वर्ष २०२५ को अनुमानित व्यय प्रस्तुत गरेका थिए । क्यानका बोर्ड सदस्य एवं प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तयारी समितिले गरेको निर्णयसमेत साधारणसभाले अनुमोदन गरेको छ । ‘घरेलु क्रिकेटको क्षेत्रमा एनपीएलले नयाँ आयाम थप्छ भन्नेमा बोर्ड एकमत छ,’ उनले भने ।
सभाले क्यानले गर्ने नियमित प्रतियोगितालाई प्रदेशस्तरमा विकेन्द्रित गर्ने निर्णय गरेको छ । खेल मैदानको उपलब्धता भएका प्रदेशका विभिन्न उमेर समूहका प्रतियोगिता लैजाने निर्णय भएको लामाले बताए । विकेन्द्रीकरणकै लागि क्यानले आयोजना गर्ने एलिट कपलाई पर्सा र जनकपुरमा लैजाने उनले सुनाए । क्यानका सचिव पारस खड्काले कार्यकालको पहिलो वर्षको प्रगति विवरण र भावी योजना प्रस्तुत गरे । साधारणसभाले कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले गण्डकी प्रदेशका दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढाएको बताए । गण्डकी प्रदेश सरकारको २०८० चैत ९ को निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँ फर्कोदय माविको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट मैदानको रूपमा घोषणा गरेको थियो । नेपाली क्रिकेटले प्राप्त गरेको उचाइ कायम राख्न युवा खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनले जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले युवा तथा उमेर समूहका खेलाडीको उत्पादनमा क्यानले विशेष ध्यान दिन सुझाए । ‘यस्ता खेलाडी उत्पादन गर्नुहोस् जसले अहिले भनिएका स्टार खेलाडीलाई समेत झस्काउन सकुन् । उमेर समूहका कार्यक्रम लक्ष्य गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकपमा नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ,’ उनले भने, ‘घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनुपर्छ ।’ उनले जिल्ला संघ विस्तार, विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजनमा राखेपले सघाएको स्मरण गरे ।
राष्ट्रिय गौरवका रूपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै उक्त कार्यलाई घनिभूत रूपमा अगाडि बढाएको उनको भनाइ थियो । त्रिवि क्रिकेट मैदानमा स्कोर बोर्ड निर्माण चुनौतीका बावजुद अन्तिम चरणमा पुगेको उनले सुनाए ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले २०२७ मा हुने यू–१९ महिला विश्वकपको आयोजनाको तयारीमा जुटिरहेको जनाउँदै त्यसका लागि काठमाडौं र पोखरालाई छानिए पनि पोखरामा पूर्वाधार अवस्था कमजोर हुँदा सम्भावना कम रहेको बताए । त्यसका लागि प्रदेश सरकारले यथाशीघ्र योजना अघि सार्न आग्रह गरे । नेपाली क्रिकेटले खेलाडीलाई राष्ट्रिय र प्रदेश तहमा मासिक भत्ताको सुरुआत गरेको बताउँदै यसले नेपाली क्रिकेटको जग तल्लोतहबाटै बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्