Banner News

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार: गृहमन्त्री लेखक



काठमाडौँ, १२ असोज । गृहमन्त्री रमेश लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।’

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । ‘ठूलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले भने, ‘उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ।’

वर्षाका कारण काठमाडौं भित्रिने सडकहरू अवरूद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । ‘विपदबाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ,’ उनले भने, ‘बाढी, पहिरो लगायत विपद सम्बन्धी पूर्व सुचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’ उनले अवस्था सामान्य हुदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो ।

‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्धारमा समेत समस्या भयो,’ उनले भने, ‘स्थलगत रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ।’

Laxmi bank