राजनीति

घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय



काठमाडौँ, १३ असोज । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने पनि निर्णय भएको छ । राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।