समाचार

हेलिकप्टरबाट २९४ जनाको उद्धार



काठमाडौँ, १४ असोज । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ ।

आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ

सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरि सुरक्षित स्थानमा ल्याइएको छ । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको छ ।

त्यसैगरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको छ । आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।