काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसले प्रमुख तीन भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार पार्टीका सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहनेगरी तीनवटा निर्देशन समिति बुधबार गठन भएको हो ।
गत भदौ १६ मा सम्पन्न केन्द्रीय समिति बैठकले भातृ संस्थाको महाधिवेशन चैतभित्र गराउन पार्टीबाट निर्देशन समिति गठन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरूको नेतृत्वमा बुधबार निर्देशन समिति गठन गरेका हुन् ।
तरुण दल निर्देशन समितिको संयोजकको जिम्मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पाएकी छन् । उनको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जितजंग बस्नेत सदस्य छन् । यसैगरी नेविसंघ निर्देशन समितिमा सहामन्त्री किशोरसिंह राठौरले संयोजकको जिम्मेवारी पाएका छन् । राठौरको नेतृत्वमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन् ।
यस्तै, महिला संघ निर्देशन समितिको जिम्मा सहमहामन्त्री उमाकान्त चौधरीले पाएका छन् । चौधरीको नेतृत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्