काठमाडौँ, १७ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।
उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । यद्यपि, खुलाउने प्रयास भने जारी राखिने उनको भनाइ छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे ।
उनले भने, “बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि खुल्ने सम्भावना छैन । हामी त्यो निष्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू फसेका छन् । स्टाफहरू गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने प्रयास गर्छौँ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ,” ।
असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए । हाल पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्