कञ्चनपुर, १९ असोज । चर्चा सुरु भएको डेढ दशकपछि महाकाली पारि दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै अब निर्माण प्रक्रिया अगाडि बढाउन सकिने भएको हो ।
असोज २ मा बसेको मन्त्रिपरिषद् बैठकले सुक्खा बन्दरगाह निर्माणका लागि इन्टरमोडल यातायात विकास समितिलाई जमिनको भोगाधिकार दिने निर्णय गरेको हो । ‘अब सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ, तीन महिनाभित्र निर्माण सुरु गर्ने गरी हामीले काम गर्नेछौं,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब छिट्टै रुख कटानको काम पनि सुरु हुनेछ ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्नाका लागि अर्को ठाउँमा जमिनको खोजी गर्न पत्राचार गरिसकेको छ ।
निकुञ्ज कार्यालयले जमिन नपाए इन्टरमोडल यातायात विकास समितिले त्यति बराबरको रकम तिर्नुपर्ने कार्यकारी निर्देशक गजुरेलले जनाए ।
‘दसैंपछि कार्यालय स्थापना गरेर रुख कटानको काम सुरु हुनेछ,’ गजुरेलले भने, ‘तीन महिनाभित्र साइड खाली गरेर भातीय पक्षलाई काम गर्न सकिने वातावरण बनाइनेछ ।’ अहिले मायापुरी सामुदायिक वनमा १७ सय रुख काटिनेछन् । कटान हुने रुखको छपान पनि भइसकेको छ । जमिनको भोगाधिकार प्राप्त भइसकेकाले तत्काल भारतीय पक्षलाई पनि ठेक्का प्रक्रिया अघि बढाउन अनुरोध गरिने गजुरेलले बताए ।
सुक्खा बन्दरगाह भारत सरकारले अनुदानमा निर्माण गरिदिनेछ । निर्माण सुरु भएको ३ वर्षभित्र काम सक्ने भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनअनुसार करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । भारतले निर्माण गरेको डीपीआरअनुसार प्रशासनिक भवन, गोदाम, भान्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेड निर्माण गरिनेछ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ । ‘करिब तीन वर्षको निरन्तरको मिहिनेत र प्रयासपछि अब सुक्खा बन्दरगाहको काम अगाडि बढने भएको छ,’ गजुरेलले भने, ‘विभिन्न चरण पार गरेर आजको अवस्था आएको हो ।’
दोधारा चाँदनी नगरपालिका–१ मा रहेको मायापुरी सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माण गर्ने भनेर तीन वर्षअघि निर्णय भएको गजुरेलले बताए । त्यसअघि दोधारा चाँदनी नगरपालिकाकै वडा नम्बर ८ को कन्जभोजमा बनाउने तयारी थियो । उक्त क्षेत्रका स्थानीयले विरोध गरेपछि निर्माणस्थल परिवर्तन भएको हो । जमिन यकिन गर्नेदेखि त्यसको अध्ययन गरेर त्यसपछि मात्रै वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्