Banner News

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ



काठमाडौँ, १९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन् ।

नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्रीज्युले विशेष चासो र महत्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो । डिजिटल नेपालको लागि मैले अहिले पोलिसीको बारेमा छलफल चलाइरहेको छु । डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो । यसको पूर्वाधार जति बलियो हुँदै गयो, त्यसैले हामीले त्यो काम चाँडै सम्पन्न गर्नुपर्छ । यसको क्षमता र गुणस्तर जति बढ्दै गयो, यसको कभरेज जति बढ्दै गयो त्यति नै राम्रो हो । यसले पहिलो कुरा खर्च घट्छ र दोस्रो कुरा करप्शन हुँदैन । पहिलो चरणमा यो पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, सरकारी क्षेत्र, बिजनेस, एआईको पनि पोलिसी बनाउँदैछौँ । जेजे भनेपनि पूर्वाधार सम्बन्धी काम त यसकै हो । यसको पूर्वाधार तयार बनाउने भनेको टेलिकमकै हो ।’ 

उनले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुगेका थिए । टेलिकमका कर्मचारीहरुले उहाँलाई बाढी, पहिरो र डुबानले तराई, पहाड र हिमाली क्षेत्रमा भएको क्षतिबारे जानकारी समेत गराएका छन् । बाढी, पहिरो र डुबानले देशभर ठूलो जनधनको क्षति भएको छ । मन्त्री गुरुङले टेलिकमको टावरहरु भएको क्षति र नेटवर्कको समस्याबारे पनि जानकारी लिएका  छन् ।