राजनीति

मनोसामाजिक अस्पताल संचालनमा ल्याउन गृह सचिवको निर्देशन



काठमाडौँ, २४ असोज । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नख्खुमा रहेको मनोसामाजिक अस्पताल संचालनमा ल्याउन निर्देशन दिएका छन् ।

केन्द्रीय कारागार अस्पतालद्वारा आयोजित अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका-२०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सचिव दुवाडीले कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले मनोसामाजिक अस्पताल संचालन गर्न गृहकार्य भइरहेको बताएका छन् । यसैगरी कार्यक्रममा कैदीबन्दीहरूलाई थुनुवा पुर्जाका आधारमा स्वास्थ्य बिमामा सहभागी गराउन आवश्यक छलफल भएको समेत जानकारी गराएका छन् ।

अस्पतालका प्रमुख डा. प्रकाश बुढाथोकीले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य विमा व्यवस्थापन, ओ एण्ड एम, अस्पतालको बजेट, कर्मचारीका लागि प्रोत्साहनलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । साथै उनले अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यहरूको संक्षिप्त प्रस्तुतिकरण गरे । अस्पतालद्वारा सार्वजनिक प्रतिवेदनमा समेटिएका ७२ जिल्लाका ७५ कारागार कार्यालयअर्न्तगत रहेका २९ हजार ६ सय २८ कैदीबन्दीहरूको स्वास्थ्य अवस्था, बाल सुधार गृहको तथ्यांकसहित तहबाट प्राप्त समस्याहरू छन् ।