समाचार

पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध



काठमाडौँ, २५ असोज । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।

आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको हो । स्काभेटर, जेसीवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुंगाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरेको छ ।

कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झण्डै १५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताए । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्नसक्ने सम्भावना नरहेको उनले बताए ।  

सडकखण्ड अवरुद्ध भएपछि कोसी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ ।