मनोरञ्जन

ज्ञानु र अनुपमलाई युवा वर्ष मोती पुरस्कार



काठमडौँ, २७ साउन । नेपाली भाषा साहित्यको उत्थान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

युवावर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय अधिकारी र रोशीलाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ ।

ज्ञानु अधिकारी समालोचनाका क्षेत्रमा सक्रिय हुनुहुन्छ भने उपन्यासकार अनुपम रोशीका कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित छन् ।

कोषका अनुसार १५२औँ मोती जयन्तीका अवसरमा यही भदौ ५ गते उहाँहरूलाई स्वर्ण पदकसहित पुरस्कार रकम प्रदान गरिनेछ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको पुण्यस्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् ।