समाचार

रगतको माग उच्च



काठमाडौँ, २९ असोज । काठमाडौँ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । 

बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अनुसार मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको हो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाडौँ ले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाडौँ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताए । दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले बल्लतल्ल एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको छ । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ ।