काठमाडौँ, ३० असोज । देशभर डेंगी संक्रमण तीव्ररुपमा फैलिरहेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १९ हजार ५९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ ।
काठमाडौँमा डेंगी संक्रमणबाट हालसम्म तीन हजार एक सय तीनजना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेंगी संक्रमण देखिएको छ ।
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्