अर्थ

महिला सयपत्री उत्पादनबाट आत्मनिर्भर



काठमाडौँ, १ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । 

पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि यहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।”

यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताए । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताइन् । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । अध्यक्ष गुरुङले भनिन्, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।”