राजनीति

सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय



काठमाडौँ, २ कार्तिक । बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

आज संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिने निर्णय गर्दै सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको तीन महिनाको काम कारबाही, प्रकृतिक विपत्तिले पुर्‍याएको क्षति लगायतका विषयमा बैठकमा ब्रिफिङ गरेका थिए । ओली सरकारको तीन महिना पूर्ण असफल भएको बैठकले निकालेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

उनले भने, ‘बाढी पहिरो लगायत विपत्तिमा सरकारले खोज, उद्धार, राहतबारे जसरी काम गर्नुपर्थ्यो, त्यो हुन सकेन । जनसरोकारको विषयभन्दा सरकार व्यक्तिगत र पार्टीगत स्वार्थ राखेर काम गरेको देखियो’, ‘यिनै विषयमा विपक्षी दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । सुनुवाइ नभएमा संसद्को विशेष अधिवेशन बोलाउनेबारे विपक्षी दलहरू सहमत भएका छन् ।’