काठमाडौँ, ४ कार्तिक । झापाको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ ।
उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार संकलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजारले बढी हो ।
आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्