सुनसरी, २८ साउन । सुनसरीको इटहरीस्थित ट्याङ्रा खोलामा आएको बढीले कम्तिमा पनि छ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैजनाको शव भेटिएको छ । बगाएकाहरुमध्ये ५ जनाको इटहरीमा र एकजनाको तरहरामा शव भेटिएको प्रहरीले जनाएको छ ।
बाढीबाट अझै थुप्रै मानिस हराइरहेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र लगायतका टोलीले उद्धार गरिरहेको छ ।
बाढीबाट इटहरी वडा नम्बर ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन् । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । रातभर अविरल परेको वर्षाका कारण इटहरीका नाला, पोखरीमा पानी भरिएर वस्ती पसेको हो ।
उता बूढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । प्रहरीका अनुसार बाढीले नेपाल टेलिकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भैरहेको छ । रातिदेखिनै इटहरी क्षेत्रमा विद्युत् सेवा समेत अबरुद्ध छ भने सडक पुरै ठप्प भएको छ ।
बाढीले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाको ब्यारेकभित्रै पानी पसेपछि सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टर विहानैदेखि उद्धारका लागि जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्