अर्थ

धितोपत्र बजार : करिब चार अर्बको कारोबार



काठमाडौँ, २८ साउन । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता शेयर कारोबार भएको हो ।

गत साता १६७ कम्पनीको रु पाँच अर्ब २५ करोड २४ लाख १५ हजार बराबरका एक करोड पाँच लाख ८० हजार ४९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ५२ अङ्कले घटेर अन्तिम दिन एक हजार ६५३ दशमलव ५३ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलव ०८ अङ्कले घटेर ३४७ दशमलव ०३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा छ । सो कोषको रु १९ करोड ५३ लाख १० हजारको कारोबार भएको छ । यस्तै शेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ । सो स्किमको ३१ लाख २७ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । यस साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको बोनस र साधारण शेयर स्टकमा सूचीकृत भएका थिए ।