समाचार

भक्तपुरमा ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुँदै, खेलमैदान उद्घाटन हुने



भक्तपुर, ६ कार्तिक । आगामी कार्तिक १० गते भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैं अगाडी नै गर्ने भनिएता पनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तीका कारण देशनै शोकमा परेकाले उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति गुण्डूले जानकारी दिएको छ । प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २० हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार रहेको समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । शनिबार विहान ७ बजे हुने प्रतियोगिता शुरु हुने उहाँले बताउनुभयो ।

नेपालीहरुको महान् पर्व दिपावली, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको शुभकामना आदानप्रदानसहित नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र बाशुदेव थापाले संयुक्त रुपमा पार्किङ सहितको सुविधा सम्पन्न उक्त प्रतियोगिता हुने खेलमैदान उद्घाटन गरिने भएको छ । हाल एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सांसद भएको समयमा ‘सांसद विकास कोष र नगरपालिकाको सहकार्य’मा रु ४० लाखको लागतमा निर्माण गरिएको सुन्दर तथा मनोरम प्राकृतिक वातावरणसहितको उक्त बास्केटवल खेलमैदान हाल व्यवस्थापकीय कार्य सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो ।

उक्त स्थानमा नेता बस्नेतको ड्रिम प्रोजेक्टको रुपमा फुटशल मैदान, पार्क, पर्यटन प्रवद्र्धनात्मक कार्य तथा अन्य विभिन्न कार्यहरु समेत निर्माण सम्पन्न भइसकेका छन् ।