समाचार

गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु



रोल्पा, ७ कार्तिक । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज बिहान लु ३ च १६५६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको हो ।

प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन् । उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।