अर्थ

विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने



वाशिङ्टन डीसी, ८ कार्तिक । विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो ।

अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सिर्जना गर्नेबारेमा छलफल भएको छ ।

यस्तै विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ । उपप्रधान एवम् अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एशिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताका लागि स्रोत परिचालन गरिने उल्लेख छ ।