Banner News

अलि बिग्रियौं, अब सच्चिन चाहन्छौं : दाहाल



काठमाडौँ, ११ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकार ढाल्ने खेलमा आफूहरू नलागेको बताएका छन् । काठमाडौंमा शनिबार भएको खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग सहकार्य नगर्ने दाबीसमेत गरेका छन् ।

सरकार ढाल्ने खेलमा माओवादी लागेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष दाहालले सत्तामा जान आफूहरूलाई हतार नभएको बताए । ‘माओवादीले सडकबाट सरकार ढाल्ने हतारो गरेको छ भनेर बुझ्नुभएको छ भने तपाईंहरू भ्रममा हुनुहुन्छ । अब हामीलाई मन्त्री, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं । ढुक्कसँग सरकार चलाए हुन्छ,’ उनले भने ।

कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गर्नु गल्ती भएको माओवादी अध्यक्ष दाहालको भनाइ छ । ‘केही समय सहकार्य गरेर गल्ती गर्‍यौं । तपाईं (कांग्रेस–एमाले) को रोग अलि–अलि हामीलाई सर्‍यो भन्ने गम्भीर आत्म समीक्षामा छौं,’ उनले भने, ‘हामीलाई बेलैमा निकालिदिएर जनतातिर फर्काइदिनुभयो । त्यसकारण हामीले धन्यवाद भनिराख्या छौं । भ्रष्ट पार्टी र जाली नेताहरूसँग लागेकामा जनतासँग आत्मालोचना गरेर भन्नेछौं– अलि बिग्रियौं, सच्चिन चाहन्छौं ।’ उनले अब जनतासँगको सम्बन्ध सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले सरकारलाई खबरदारी गर्न आयोजित कार्यक्रमलाई लोकतन्त्र र संविधानविरोधी भन्नु आपत्तिजनक भएको बताए । ‘खबरदारी सभा घोषणा गर्नेबित्तिकै सत्तापक्षमा आतंक देखापर्‍यो । सरकार आजै ढल्छ, भोलि ढल्छ भनेका छैनौं । खबरदार, तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितिमा नजानुहोला,’ उनले भने । सरकार परिवर्तन गर्नु आफूहरूको मुख्य काम नभएको उनको भनाइ छ ।

प्रतिपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने संकेत माओवादी अध्यक्ष दाहालले गरेका छन् । ‘जरुरी पर्‍यो भने, सरकारले निहुँ खोज्यो भने सदनभित्र विशेष अधिवेशनको माग गर्नेछौं । विशेष अधिवेशन माग गर्ने संख्या विपक्षीसँग छ,’ उनले भने, ‘संसद्मा भद्र तरिकाले जवाफ मागिन्छ । धेरै अभद्र भयो भने घिसारेर सडकमै अभद्र तरिकाले जवाफ मागिनेछ ।’

संवैधानिक तरिकाले संघर्षमा जाँदा सरकार गम्भीर नभए विशाल विरोधसभा र आन्दोलन हुने उल्लेख गर्दै दाहालले त्यसप्रति हेक्का राख्न सरकारलाई चेतावनी दिएका छन् । सरकारका गलत कार्यविरुद्धको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘फेरि एउटा क्रान्तिको नेतृत्व गर्न सक्छु भन्ने आँट छ ।’

माओवादी अध्यक्ष दाहालले सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन खबरदारी सभा नगरेको बताए । बरु अघिल्लो सरकारका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई बचाउन खोजेको आरोप लगाए । ‘रवि लामिछानेलाई मुद्दाबाट बचाउन प्रचण्डले यो खबरदारी सभा राखेको भनेर प्रचार गरिँदै छ । दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन,’ उनले भने, ‘मैले विगतमा छानबिन समिति बनाउन उचित हुन्छ भनेको हुँ । दोषी भए कारबाही हुन्छ, निर्दोष भए उन्मुक्ति पाउनुहुन्छ भनेको हो । सहकारी छानबिन समिति बन्नु हुँदैन भन्ने ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने ओलीजी हो ।’

सरकारले सहकारी ठगीसँग जोडिएका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धान नगरेको भन्दै अध्यक्ष दाहालले आपत्ति जनाए । ‘सरकारले अपनाएको रबैयामा हाम्रो आपत्ति छ । त्यही प्रतिवेदन (सहकारी छानबिन) मा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई गिरफ्तार गर्नु नपर्ने, कांग्रेसका नेताको पनि नाम छ,’ उनले भने, ‘राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका बेठिक छ ।’

नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टी–इस्टेट लगायतका अनियमिततामा ओली सरकारले अनुसन्धान नगरेको दाहालले टिप्पणी गरे । ‘सय दिनमा प्रमाणित भइसकेको छ, बाढीपहिरो पीडितलाई राहत दिन सरकार देखिँदैन । कुलमान घिसिङ (विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक), उपसभामुख (इन्दिरा राना मगर) हटाउन देखिन्छ । दल विभाजन गर्न देखिन्छ सरकार,’ दाहालको सरकारप्रति व्यंग्य थियो, ‘कहाँ पुग्यो भुटानी शरणाथी काण्ड ? कहाँ पुग्यो बाँसबारी जग्गा प्रकरण ? कहाँ पुग्यो गिरिबन्धु टी–इस्टेट, कहाँ पुग्यो बालमन्दिर जग्गा काण्ड ? यो सरकार यी काण्ड खोतल्न होइन, काण्ड मिलाउन आएको सरकार हो ।’

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले मुख्यालय दानमा बनाइदिन लागेको विषयमा पनि अध्यक्ष दाहालले टिप्पणी गरे । ‘दुई चार वर्षअघिदेखि भाटभटेनी प्रचण्डको हो भनियो । मैले होइन भन्दा पत्याउने कसैले होइन । हाम्रो नेतृत्वको सरकारले गिरफ्तार गर्दा पनि यो प्रचण्डकै हो भनेका थिए,’ उनले भने, ‘अहिले कपीजीले क्लियर गर्नुभयो । धन्यवाद केपीजी । त्यसको सेयरहोल्डर तपाईं रहेछ ।’

कांग्रेस र एमालेले सरकार निर्माणका बेला संविधान संशोधन गर्ने बताए पनि अहिले त्यो विषय अघि नबढाइएको दाहालको टिप्पणी थियो । ‘संविधान संशोधन एउटा बहाना थियो, उद्देश्य भ्रष्टाचारीलाई जोगाउनु थियो,’ उनले भने । माओवादी फुटाएर कमजोर बनाउन दुई ठूला पार्टी लागेको आरोप लगाउँदै उनले भने, ‘प्रचण्ड रहिरह्यो भने शान्ति पाउने भएनौं भनेर माओवादी पार्टी सिध्याउन लाग्नुभएको छ । माओवादीलाई फेरि फुटाउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहनुभएको छ । नेतृत्वलाई बदनाम गर्न षड्यन्त्र गरिरहनुभएको छ ।’

माओवादी अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन नबनाई प्रतिस्पर्धा गर्ने उद्घोष गरे । ‘आगामी निर्वाचनमा हामी जति ल्याए पनि एक्लै लड्छौं । हामीले बीचमा गल्ती गर्‍यौं, जनतासँगको सम्बन्ध कमजोर भयो,’ उनले भने, ‘माओवादी फेरि एक हुन्छ, बनाइन्छ । एक्लै चुनाव लडेर कांग्रेस–एमालेलाई जनताकै तहबाट सजाय दिइनेछ ।’

अध्यक्ष दाहालले मुलुकमा सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुने बताए । ‘शासकीय प्रणाली गलत भयो भने भ्रष्टाचार रहिरहन्छ । जबसम्म चुनाव लड्नका लागि करोडौं खर्च गर्ने प्रणाली रहन्छ, तबसम्म भ्रष्टाचार रोकिँदैन,’ उनले भने, ‘जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख भयो र उसले विज्ञलाई मन्त्री बनाउने व्यवस्था भयो भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने पनि भ्रष्टाचार हुँदैन ।’ कांग्रेस–एमाले संविधान संशोधनको बाटोमा अघि बढे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा जाने माओवादीको तयारी छ । कान्तिपुर