काठमाडौँ, १५ कार्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् ।
तिहारको शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन पनि अनुरोध गरेका छन् । उपराष्ट्रपति यादवले तिहारले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
‘तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो । मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो,’ शुभकामना सन्देशमा उनले भनेका छन्।
प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्