राजनीति

प्रधानमन्त्री ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण : मन्त्री गुरुङ



काठमाडौँ, १६ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् । 

देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो । एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्रहुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए ।

बिहीबार काठमाडौँमा नेकपा (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गरे । सरकारले आफनो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उनले दाबी गरे ।