Banner News

सात राजनीतिक दलको नाम परिवर्तन



काठमाडौँ, १६ कार्तिक । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

२०८० फागुन ३ गते बसेको आयोगको बैठकले १९ वटा राजनीतिक दललाई नाम परिवर्तन गर्न भन्दै निर्देशन दिएको थियो । निर्देशन दिइएका दलहरूको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप नभएको तथा नदेखिएकोले नाम परिवर्तन गर्नुपर्ने निर्णय आयोगले गरेको थियो ।

आयोगका अनुसार यो काम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता भएका दलहरूलाई नाम परिवर्तनका लागि निर्देशन दिइएको थियो । तीमध्ये आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

नाम परिवर्तन गर्ने दलहरूमा नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेका छन् ।

ती पार्टीहरूले क्रमशः नाम परिवर्तन गरेर राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल राखेका छन् ।