काठमाडौँ, १९ कार्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताएकी छन् ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरेकी हुन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी सय वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताइन् । उनले दिगो विकास गर्ने भइसकेपछि वन जंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरुको लागि कति ठाउँ चाहिन्छ ? भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई दिनुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताइन्। शहरीकरण कस्तो ठाउँमा गर्ने ? भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उनले उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्