अर्थ

परिसूचक नेप्सेमा झिनो अंकको गिरावट



काठमाडौँ, २० कार्तिक । आज सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंककाे गिरावट आएको छ ।

तिहार बिदापछि पहिलोपटक खुलेको बजारमा तीव्र उतारचढावबिच ०.२१ अंकले घटेको हो ।  

योसँगै मंगलबार सेयर बजार २६७७.४० अंकमा झरेको छ । यो दिन बजारमा ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार बजार २६९७ अंकसम्म पुगेको थियो भने न्यूनतम २६७० अंकसम्म झरेको थियो । मंगलबार सात उपसूचक बढ्दा ६ वटा उपसूचमा गिरावट आएको छ । सबैभन्दा बढी वृद्धि निर्जीवन बीमातर्फ १.०६ प्रतिशतले हुँदा सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको ०.८१ प्रतिशतले भएको छ ।

बजारमा मंगलबार सुपर माई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।