राजनीति

रौतहटमा उपनिर्वाचनका लागि एमालेका उम्मेदवार चयन



रौतहट, २१ कार्तिक । रौतहटमा अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएको छ ।

उपनिर्वाचनमा रौतहटका छुट्टाछुट्टै पालिकाका तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, ईशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ । नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका-७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा पार्टी जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । चयन भएका तीनवटै वडा अध्यक्षका उम्मेदवारहरूलाई निर्वाचित गर्न एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई एक भएर लाग्न आग्रह गरेका छन् ।