काठमाडौँ, २२ कार्तिक । सभामुख देवराज घिमिरेले छठ पर्वको पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाएकाे बताएका छन् ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।
सन्देशमा भनिएको छ, “छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु । यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् । नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकाबारे हामी सबै जानकार नै छौँ । छठ पर्वले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेको छ ।”
प्रतिक्रिया दिनुहोस्