काठमाडौँ, २२ कार्तिक । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ ।
अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि ‘फास्ट ट्र्याक’मा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी तयारी गर्नेछन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।
बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाई तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ । आयोजनाहरूको तयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिए । नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने उनको भनाइ छ ।
बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्