Banner News

आज श्रीकृष्णाष्टमी, भगवान श्रीकृष्णको पूजाआराधना गरीे मनाइँदै



काठमाडौं, ३० साउन । आज श्रीकृष्णजन्माष्टमी पर्व । मुलुकभर कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित दर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।

द्वापरयुगमा माता देवकी र पिता वासुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । पृथ्वीमा प्राणीको संरक्षण र धर्मको स्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ ।

उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान कृष्णलाई योगेश्वर भन्ने गरिन्छ । धर्म रक्षार्थ उहाँले कंसको बध गर्नुभएको र गाई संरक्षणका लागि गोवर्धन पर्वत बचाउनुभएको पाइन्छ । भगवान कृष्णले कंसपात्र पूतनाको स्तनपान गरी रगतसमेत चुसेर उसको संहार गरेको सम्झनामा नागपञ्चमीदेखि देखाइने लाखेनाच कृष्णाष्टमीमा सेलाउने चलन छ ।

कृष्णाष्टमीका अवसरमा उहाँको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगाएतका कृष्णलीलाहरुको मञ्चन गरिन्छ । भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिनुभएको थियो । धनुषधारी अर्जुनको सारथी बनेर उहाँले दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको दर्शन विश्वमै बेजोड मानिन्छ ।

श्रीमदभागवत् गीताको रुपमा परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानित छ । कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको भजनकीर्तन र पूजाआजा गरिन्छ ।

आज ललितपुरको पाटनस्थित कृष्णमन्दिर, काठमाडौको स्वयम्भूमा रहेको गीतामन्दिर,टेकुमा रहेको राधाकृष्णमन्दिर,बूढानीलकण्ठस्थित कृष्णमन्दिरका साथै कालीगण्डकी नदीकिनारमा रहेका देवघाट केलादीघाट रुरुक्षेत्रका कृष्णमन्दिर,चतराधामलगायत देशैभर भगवान श्रीकृष्णको विशेष भक्ति र उपासना गरी कृष्णजन्माष्टमी पर्व मनाइँदै छ । यस अवसरमा राधाकृष्णको झुला निकाली नगरपरिक्रमा पनि गराउने प्रचलन छ ।