Banner News

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती



काठमाडौँ, २४ कार्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । 

गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाइएको छ । गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थिए । नेता सिंहलाई २०१७ साल पुस १ गतेको कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।