राजनीति

नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : प्रकाशमान सिंह



काठमाडौँ, २४ कार्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् ।

इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई आज स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताएका हुन् ।

युएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए ।

सिंहले युएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा युएन ह्याबिटेटका नयाँ कार्यक्रमहरू नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाई छ ।