काठमाडौँ, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ ।
समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।
सचिव सोमप्रसाद पाण्डेयका अनुसार पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ ।
प्रतिक्रिया दिनुहोस्