काठमाडौँ, ३० कार्तिक । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ ।
गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो । भारतले स्वीकृति दिइसकेकाले शुक्रबार दिउँसो १२.४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्नेछ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न भारतले सहमति दिएको छ । बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने बताईएको छ । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्