अर्थ

सहकारीबाट अपचलन गरेको रकम क्रिप्टोमा लगानी : कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन



काठमाडौँ, ३० कार्तिक । कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो । 

तर, सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति गुरुङविरुद्ध भने प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । सामान्य बयान मात्रै लिएको छ । उनले ‘कागजी डिभोर्स’ गरेकी ज्योति गुरुङसहित पाँच आरोपी भने फरार छन् । क्रिप्टो यस्तो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालको कानुनले भने वर्जित गरेको छ । 

‘मितेरी सहकारीबाट अपचलन भएको रकमको सन्दर्भमा हामी अनुसन्धानरत छौँ । सहकारीको केही रकम ‘क्रिप्टो’मा पनि लगानी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘विशेष गरी ज्योतिबहादुर भण्डारीले अपचलन गरेको रकम ‘क्रिप्टो’मा लगानी गरेकोजस्तो देखिन्छ । यस विषयमा प्रहरी अनुसन्धानरत छ । नयाँ तथ्य खुल्दै जालान् ।’

ज्योतिबहादुर पनि फरार आरोपी हुन् । सहकारीकी तत्कालीन वरिष्ठ लेखापाल (पछि महाप्रबन्धक) ‘धनराज पत्नी’ ज्योतिले ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ झिकेर ज्योतिबहादुरलाई दिएकी थिइन् । त्यसपछि पनि १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरेर ज्योतिबहादुरलाई नै दिएकी थिइन् । सोही रकम ‘क्रिप्टो’मा लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । सिआइबीले ज्योतिबहादुर र ज्योतिसहित सुजन शाक्य, हितमान शाक्य र प्रकाश थापाविरुद्ध ६ असोजमै पक्राउ पुर्जी जारी गरेपछि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । 

सिआइबी प्रवक्ता बोगटीले भने, ‘यस धन्दाको मुख्य योजनाकार ज्योतिबहादुर नै रहेको देखिन्छ । सहकारीको रकम उनकै योजनाअनुसार अपचलन भएको देखिन्छ । घटनामा संलग्नविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिले उनीहरूको खोजी जारी छ ।’ पक्राउ पुर्जी जारी भएका कोही पनि अभियुक्त नेपालमा नरहेको र ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको प्रहरीले जनाएको छ ।

रकम अपचलन भएका अन्य सहकारीमा संगठित अपराधको मुद्दा पनि जोडिँदा मितेरीमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान 
रकम अपचलन भएका अन्य सहकारीको हकमा ठगीसँगै संगठित अपराधलाई पनि जोडेर अनुसन्धान भएको छ । संसदीय छानबिन समितिले नै सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिएको, गोर्खा मिडियामा आएपछिको रकम कारोबारमा मात्रै जिम्मेवार देखिएको भनेर ठहर गरेका रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत मुद्दा चलाएको छ । तर, त्यही छानबिन समितिले कांग्रेस उपसभापति धनराज गुरुङको समेत संलग्नता ठहर गरेर उनीमाथि पनि अनुसन्धान गर्न भनेर किटान गरेको मितेरी सहकारीको हकमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार मितेरीको रकम अपचलनमा सत्तारूढ दलकै उपसभापति मुछिएपछि राजनीतिक दबाबमा मुद्दा कमजोर बनाउन खोजिएको छ । 

धनराजपत्नीज्योतिले मितेरीबाट अपचलन गरेको १६ करोड ज्योतिबहादुरमार्फत क्रिप्टोमा लगानी
नराज र ज्योति गुरुङ (मितेरीकी तत्कालीन वरिष्ठ लेखापाल र पछि महाप्रबन्धक) बिच २९ फागुन ०७६ मा मात्रै ‘कागजी सम्बन्धविच्छेद’ भएको देखिन्छ । तर, ज्योतिले त्यसअघि नै सहकारीको रकम अपचलन गरेर ज्योतिबहादुरलाई सुरुमा तीन करोड र त्यसपछि १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ गरी झन्डै १६ करोड दिएकी थिइन् । त्यही रकम ज्योतिबहादुरले ‘क्रिप्टो’मा लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

यो रकम धनराजकै भूमिकामा ज्योतिले अपचलन गरेको स्वयं सहकारीले पनि दाबी गरेको छ । ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख ऋणलाई सहकारीले यो दाबीको मुख्य आधार मानेको छ । उक्त ऋणपत्रमा धनराजले हकवाला भनेर ज्योतिकै नाम उल्लेख गरेका थिए भने ऋणपत्रमा धनराजकै हस्ताक्षर थियो । ‘सहकारीको रकम अपचलनमा ज्योतिसहित धनराजको पनि भूमिका छ । त्यो रकम धनराजले पनि चुक्ता गर्नुपर्छ,’ सहकारीले भनेको छ । सुरुमा लिएको तीन करोड सकारेको भए पनि पछिल्लोपटक झिकेको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँमा ब्याजसमेत जोड्दा १४ करोड ८१ लाख लिनुपर्ने दाबी सहकारीको छ ।

त्यसो त ४ मंसिर ०७९ को चुनावमा निर्वाचन आयोगमा उम्मेदवारी–पत्र दर्ता गर्दा पनि धनराजले श्रीमतीमा ज्योतिकै नाम उल्लेख गरेका छन् । यो पत्रमा पनि धनराजकै हस्ताक्षर छ । यसले पनि क्रिप्टोमा लगाएको रकम अपचलनमा धनराजको भूमिका देखाउँछ । धनराजले भने उम्मेदवारी दर्ता फाराम साथीहरूले भरिदिएको र ज्योतिसँगको सम्बन्धविच्छेदबारे उनीहरूलाई जानकारी नभएकाले भुलवश नाम उल्लेख गरेको दाबी गरेका छन् । 

यी आधारहरूले ज्योतिलगायत फरार अभियुक्तमाथिको अनुसन्धान र खोजीमा धनराजभन्दा उपयुक्त माध्यम अरू नभएको देखाउँछ । तर, सुरुदेखि नै उनलाई जोगाउन सत्ताको शक्ति दुरुपयोग भएको छ । बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा धनराजको नामसमेत किटान गरेर मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमा उजुरी गरेकामा कार्यालयले उनको नाम भने काटेर अनुसन्धानका लागि सिआइबीमा सिफारिस गरेको थियो । त्यसपछि कुम्भराज जाहेरी बोकेर सिआइबी कार्यालय पनि पुगेका थिए । तर, सम्बन्धित कार्यालयको सिफारिसविना अनुसन्धान गर्न नसकिने भन्दै सिआइबीले जाहेरी फिर्ता गरिदिएको थियो । त्यसपछि कुम्भराजसहितको टोली संसदीय छानबिन समितिमा पुगेर उजुरी दिएको थियो । समितिले कुम्भराजसँगको बयानसँगै सहकारी कार्यालय अनुगमनलगायत अध्ययन गरेपछि धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस नै गरेको थियो । 

तर, अहिलेसम्म प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । बरु, सत्ताको आडमा जोगाएको भनेर सर्वत्र आवाज उठेपछि मात्रै सिआइबीले उनीसँग सामान्य बयान लिएको छ । २८ कात्तिकमा लाजिम्पाटस्थित कार्यालयमा बोलाएर धनराजसँग बयान लिएको सिआइबीले जनाएको छ ।

सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले तथ्य र प्रमाणका आधारमा मात्रै पक्राउ पुर्जी जारी हुने बताए । ‘प्रहरीले कसैको सिफारिस, दबाब वा प्रभावमा पक्राउ पुर्जी जारी गर्ने होइन । अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा अदालतको अनुमति लिई पक्राउ पुर्जी जारी हुने हो । धनराजको सन्दर्भमा पनि त्यही भएको हो । हामी तथ्य विश्लेषण गरिरहेका छौँ । पक्राउ गर्नुपर्ने आवश्यकता देखिए उहाँलाई पक्राउ गर्नुनपर्ने कुनै कारण छैन ।’ नयापत्रिका