राजनीति

भक्तपुर एमालेको ‘लालकिल्ला’ हुन्छ भनेर महेश बस्नेतविरुद्ध सवै लागे: मन्त्री थापा



भक्तपुर, १ मंसिर । बागमती प्रदेशको स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरमा नेकपा (एमाले)को लालकिल्ला हुन्छ भनेर एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जिल्लामा भएका सम्पूर्ण दलहरु लागेको बताउनुभएको छ ।

आज एमाले सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भक्तपुरको विकास र समृद्धिको कायपलट गर्ने महेश बस्नेत विरुद्ध २०७९ को निर्वाचनमा सवै दलहरु एक भएर हराउँदै भक्तपुरलाई विकासलाई अध्यारो यात्रामा लैजाने कार्य गरेको बताउनुभयो । महेश बस्नेतले जित्दा खेरी भक्तपुर जहिले पनि एमालेको गढ हुन्छ, जहिले पनि एमालेको लालकिल्ला हुन्छ भन्ने खुल्ला किताव जस्तै देखेर कांग्रेस, माओवादी, समाजवादी, नेमकिपा, राप्रपा लगायतका दलहरु महेश बस्नेतलाई हराउन लागेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्लामा एमालेको सूर्यविनायकमा सवैभन्दा उत्कृष्ट संगठन रहेको छ । २०७९ को स्थानीय तहमा मेयर उपमेयरसहित बहमुत वडामा जीत हासिल गरेको छ । प्रदेश सदस्यमा जिताउन सफल भएको छ । जसको फलस्वरुप म मन्त्री समेत भएको छु । तर संघीय सांसद थोरै मतले जिताउन असफल भयौं । भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनमात्र हैन, महागठबन्धन थियो । हाम्रो पार्टीका पोलिटव्युरो सदस्य महेश बस्नेतलाई हराउन यहाँ कांग्रेस, माओवादी, समाजवादी, नेमकिपा, राप्रपा लगायतका अन्य दलहरु मिलेर लागे । किन भने महेश बस्नेतले जित्दा खेरी भक्तपुर जहिले पनि एमालेको गढ हुन्छ, जहिले पनि एमालेको लालकिल्ला हुन्छ भनेर महेश बस्नेतलाई हराउन लागे । जसले गर्दा हामी झिनो मतले हार्न पुग्यौं । आफ्नै केही कमजोरी पनि भएका होलान् तर अव सवै लागेर मिसन ८४ सफल बनाउन लाग्नुपर्छ । भक्तपुरको विकासमा महेश बस्नेतले चाल्नुभएका अभियानहरुलाई सफलता गरेरै छाड्नेछौं ।’

मिसन ८४ लाई सफल बनाउन अब आ–आफ्नो क्षेत्रमा खट्नुपर्ने धारणा राख्दै मन्त्री थापाले भन्नुभयो, ‘स्थानीय अधिवेशनहरु गरिरहेका छौं । भेलाले नयाँ तथा चुस्त संगठन निर्माण हुनेछ, जसले निर्वाचनको ठूलो आधार तयार हुनेछ । एमालेको विचार र सिद्धान्तलाई अंगिकार गरी अगाडी बढ्नेछ । पार्टीका विचार र राम्रा कामलाई टोल टोलमा पुग्नेछ, भ्रमको जालो तोड्नेछ ।’