समाचार

रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते



रुकुम, १ मंसिर । काठमाडौँबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, खाग्री गाउँपालिकाकै वडा नम्बर ६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका हुन् ।

यस्तै आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षीया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।

घाइते सबैको नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।