राजनीति

‘पदको नेता हैन, मनको नेता’ हुनुपर्छः पूर्वमन्त्री बस्नेत



भक्तपुर, १ मंसिर । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राजनीतिमा पदको नेता नभई जनताको मनको नेता बन्नुपर्नेमा जोड दिनुभएकोछ ।

एमाले सूर्यविनायक नगरकमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले पार्टी नेतृत्वले संगठन निर्माण तथा पार्टीको पक्षमा काम गर्दा पास मात्र गरेर छुट नपाउने बताउनुभयो । नेतृत्वले डिस्टिङ्शन ल्याउने गरी जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा भक्तपुरमा एमाले हार्ने कुनै पनि छुट नहुने बताउनुभयो । नेतृत्वको कार्यशैली तथा क्षमताको मुल्याङ्कन हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०७१ देखी ७३ सम्मको भक्तपुरमा एमालेको सांगठनिक स्वर्ण युग हो । पार्टीको केन्द्रीय महाधिवेशनमा केन्द्रीय कमिटी तथा संघीय निर्वाचनमा म पराजित भए । जुन वेला म पार्टीको सदस्यमात्र थिए । २०७१ मा केपी शर्मा ओलीले मलाई मन्त्री बनाइदिनुभयो । त्यसपछि हामीले एमालेलाई व्यवस्थित र संगठित गर्ने ऐतिहासिक कार्य गरेका थियौं । जसले गर्दा म पदको नेता भइन होला तर सवैको मनको नेता बनेको थिए । तपाई नेतृत्वमा रहनुभएका सम्पूर्ण कमरेडहरुले संगठन निर्माण तथा पार्टीको पक्षमा काम गर्दा पास मार्क त ल्याउनुभयो होला । तर डिस्टिङ्सन ल्याउनभएको छैन । त्यसैले अबका दिनमा पास मात्र गरेर छुट पाइने छैन, कुनै पनि हालतमा डिस्टिङ्शन ल्याउने गरी नयाँ विचार, सिद्धान्त र दृष्टिाकोणको साथ काम गर्नुपर्छ ।’

जनताको बहुदलीय जनवाद (जबज)कै माध्यमबाट एमाले विशाल पार्टी बन्न सफल भएको उल्लेख गर्दै उहाँले जबजकै आधारमा मनमोहन अधिकारीले समृद्ध नेपालको खाका तयार गर्नुभएको स्मरण गर्नुभयो । सोही आधारमा केपी ओली नेतृत्वको सरकार तथा पार्टी त्यसलाई विकसित र परिस्कृत गर्दै सोही अनुसार हाल अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले एमालेले सोही आधारमा इतिहास कोरेको बताउनुभयो ।

मंसिर ७ गते काठमाडौँ, ललितपुर तथा भक्तपुर एमालेको संयुक्त आयोजनामा हुन लागेको जागरण अभियानले अराजकतालाई नियन्त्रण गर्ने, एमालेको पक्षमा जनलहर पैदा गर्ने, सरकारले गरेका राम्रा कामहरुलाई जनताको माझ पुर्याउने, प्रधानमन्त्री केपी ओलीको शानलाई विश्वसामु अझ उचो बनाउने लगायतका महत्वपूर्ण योजनाहरुका साथ आयोजना गरिएको उहाँले उल्लेख गर्नुयभो । ‘पछिल्लो समयमा भइरहेका सामाजिक अपराधका कार्यहरुलाई तह लगाएरैं छाड्छौं । बैकल्पिक शक्तिको नाममा पुराना पार्टीहरुलाई निषेध गर्ने कार्यहरु भएको, जसलाई एमालेले प्रतिवाद गरेकै कारण उपनिर्वाचनमा एमालेको वर्चश्व स्थापित भएको छ ।’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय भइरहेका अराजकतालाई तोड्न ७ गते शक्ति प्रदर्शन गर्दैछौं । जसको लक्ष्य १६ गतेको उपनिर्वाचन पनि हो । तसर्थः त्यसलाई सफल बनाउन सूर्यविनायक नगरपालिकाबाट मात्र कम्तिमा १० हजारको संख्यामा जनता उतार्नुपर्छ, भक्तपुर जिल्लाबाट २० हजार उपस्थित गराउनुपर्छ । काठमाडौँमा लाखौंको सहभागिता उतार्नुपर्छ ।’

उहाँले नयाँ पुस्तालाई राजनीतिमा ल्याउन नेतृत्वले विशेष भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । नेपाली सेना र एमालेलाई समाप्त पार्न साम्राज्यवादी शक्तिहरु लागिपरिरहेको उल्लेख गर्दै उहाँले त्यसको नेपाली पात्रको रुपमा रवि लामिछाने तथा काठमाडौँका मेयर बालेन शाह जस्ताहरुको माध्यमबाट चलेखेल भइरहेको उल्लेख गर्नुभयो । ‘पेरिस कम्युन’ जस्तै ‘भक्तपुर कम्युन’ बनाउन एमाले भक्तपुर सक्षम रहेको उल्लेख गर्दै भक्तपुर जिल्लालाई महानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो । एमालेको नेतृत्वमा महानगरपालिका बनाउन आवश्यक पर्ने आधारहरु पुरा भइसकेको उल्लेख गर्दै उहाँले एमाले त्यसको लागि कोशेढुंगा सावित हुने बताउनुभयो ।