काठमाडौँ, ४ मंसिर । गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने राजस्व चुहावटका विषयमा गम्भीर हुन निर्देशन दिएका छन् ।
आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका हुन् । उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भए पनि सँगै अनुशासित पनि बन्नुपर्ने उल्लेख गरे ।
उनले भने, “सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।”
गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । गृहमन्त्री लेखकले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।”
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै भने, “तपाईंहरूले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियाशिलता र सक्रियता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छ ।”
प्रतिक्रिया दिनुहोस्