राजनीति

विमानस्थलभित्रको जोखिमयुक्त हवाई इन्धन ट्यांकी सार्ने प्रक्रिया सुरु



काठमाडौँ, ६ मंसिर । सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ ।

डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ । डीपीआर गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो । सम्झौतासँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको यादवले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम सुरु भएको उनको भनाइ छ ।

पछिल्लो पटक सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि साउन २८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कार्यकारी निर्देशक चण्डिका भट्टसहितको टोलीले जग्गा निरीक्षणसमेत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री भण्डारीले पनि तत्काल स्थानान्तरण गर्न भनेका थिए । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको डिपोलाई दीर्घकालीन रूपमा प्रयोग गर्ने गरी सार्नुपर्ने सांसदले समेत माग गर्दै आएका छन् । गत भदौमा भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा धेरैजसो सांसदले डिपो तत्काल सार्न मागसमेत गरेका थिए ।

‘५० वर्षअघि बनेको हवाई इन्धन डिपोमा सुरक्षाको मापदण्ड पूरा गरिएको छैन । हवाई उडान बढ्दो क्रममा छन् । तर त्यहाँ भने जति हवाई इन्धन मौज्दात गर्न सकिएको छैन । मौज्दात कम्तीमा १५ दिनलाई हुनुपर्नेमा ५/६ दिनलाई मात्रै पुग्ने अवस्था छ,’ यादवले भने, ‘अझ डरलाग्दो त, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड पुगेको छैन । मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । अहिले धावनमार्ग (रनवे) बाट करिब ९० मिटरकै दूरीमा डिपो छ ।’