काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ।
न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो । प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मङ्सिरको ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश गरेको छ। लिखित आदेश प्राप्त नभएकाले कति दिनभित्र उपस्थित गराउने बारे भन्न नसकिने उनले बताए ।
प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ पुर्याइएको छ । उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ। अदालतले बहसपछि म्यादको बारे निर्णय लिनेछ ।
प्रतिक्रिया दिनुहोस्