काभ्रे, ११ मंसिर । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण नगर्ने बताए ।
मंगलबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई इंगित गर्दै बीआरआई परियोजनालाई ऋणको रुपमा ग्रहण नगरिने बताएका हुन् । उनले भने, ‘हामी अनुदान लिनको लागि तयार छौं, तर ऋण कुनै पनि हालतमा लिदैनौं, बीआरआई परियोजनालाई पनि सरकारले कुनै पनि हालतमा ऋणको रुपमा ग्रहण गर्दैन । प्रधानमन्त्रीको चीन भ्रमणमा पनि बीआरआई परियोजनाका नाममा ऋण लिने सम्झौता हुँदैन । सरकारले अनुदानको मात्रै सम्झौता गर्छ । ऋण पायो भन्दैमा सरकारले जहाँ पायो त्यहीँ हात थाप्ने काम गर्दैन । सरकारले देशको हितको लागि, जनताको हितको लागि सुशासन कायम गर्ने काममा अनुदानका विषयमा मात्रै सम्झौता गर्दै आएको छ ।’
कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको उजागार गर्नुपर्ने बताउँदै भने, ‘पत्रकार स्वतन्त्रताको पक्षमा सरकारको साथ रही रहनेछ, जनतालाई सूचनाको हकको सुनिश्चित गराउनुपर्छ, तर त्यसको पनि आफ्नो सीमा, मर्यादामा रहेर गर्नुपर्छ, सञ्चार माध्यमबाट सम्प्रेषण हुने सामाग्रीले समाजमा विकृति फैलाउने, समाज–समुदायमा द्वन्द्व, विवाद सिर्जना गर्ने जस्ता काम गर्नु भने भएन, त्यस प्रकारका सञ्चार माध्यमलाई नियमन गराउन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्