राजनीति

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, १५ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

शुक्रबार चीनको छेन्दु सहरमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ । भ्रमणको क्रममा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा चीनको ७५ औं स्थापना दिवस र आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री राणाले बधाई दिइन् । उनले पछिल्लो समय नेपाल–चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएको र यसले सम्बन्ध थप बलियो बन्दै गएको उल्लेख गरिन् । चीन भ्रमण गर्ने नेपाली नागरिकलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा उनले चीन सरकारलाई धन्यवाद दिइन् ।

राणाले नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्बाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको बताइन् ।

पछिल्लो समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणले दुई देशबीच निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने उनले विश्वास व्यक्त गरिन् । वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदान–प्रदानबारे पनि छलफल भएको छ ।