राजनीति

सर्वोच्चले किन दरपिठ गर्यो पूर्वमन्त्री अधिकारी विरुद्धको रिट ? यस्ता छन् ९ कारण



काठमाडौँ, १७ मंसिर । नेकपा (एमाले)का नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करको आरोप लागेको थियो । यसै क्रममा सर्वोच्च अदालतले उहाँ विरुद्धको मुद्धालाई दरपिठ गरिदिएको छ । यो सँगै उहाँविरुद्ध अब उक्त मुद्धा नचल्ने भएको छ ।

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वकानुनमन्त्री अधिकारीविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आइतबार निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका हुन् ।

त्रिपाठीले शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए । मानव तस्करी गर्ने एक समूहसँग मन्त्री अधिकारी पनि जापान पुगेका थिए । उनी जापानी अध्यागमनबाटै फर्केपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि मन्त्री अधिकारीलाई पनि हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अघि जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न नौ आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

यस्ता छन् पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचल्नुका ९ कारणहरु

१, प्रतिवादी लिला बल्लभ अभिकारी स्वयंले नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीलाई जानकारी दिएको ।
२, जापान सरकारले अन्य प्रतिवादीहरूलाई बहिष्कार आदेशबाट डिपोर्ट गरेकोमा निज लिला बल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध फिर्ता भइ आएको देखिएको ।
३, अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा निजको संलग्नता सम्बन्धमा केही नबोलेको ।
४, निजले आरोपित कसुरमा इन्कार रही बयान गरेको ।
५, तत्काल पक्राउ परेका प्रतिवादीहरू महेश पाण्डे समेतको बयान व्यहोराबाट प्रस्तुत कसुरमा निज लिला बल्लभ अधिकारीको संलग्नता रहेको भनी खुल्न आएको नदेखिएको ।
६, मिसिल संलग्न रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभी फुटेजमा समेत निज एक्लै सवार भएको देखिएको ।
७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान प्रस्थान भएपश्चात महेश पाण्डेले ह्वाट्स एपमा म्यासेज समेत हेरेको नेदेखिएको र निजको कल डिटेल्स हेर्दा पक्राउ परेका प्रतिवादीहरूसँग सम्पर्क भएको नदेखिएको ।
८, जनक राई समेतका किर्ते गरी बनाएको हस्ताक्षरसँग नमूना परीक्षण गर्दा मेलसमेत खाएको नदेखिएको ।
९, कञ्चन देवकोटा समेतसँग हङकङको ट्रान्जिटमा गएपछि मात्र भेटघाट भएको देखिएको ।